वीरगन्ज :

राष्ट्रिय झण्डाको सम्मान कायम गर्न च्यातिएका र फिका झण्डा फेर्न पर्सा प्रशासनको आदेश

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.7kViews
1100 Shares

वीरगंज (पर्सा), १६ असार । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका विभिन्न सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डाको संरक्षण, मर्मतसम्भार तथा आवश्यक पर्दा तत्काल प्रतिस्थापन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र जारी गर्दै चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थानमा फहराइएका कतिपय राष्ट्रिय झण्डा च्यातिएको, रङ्ग फिक्का भएको तथा फोहोर अवस्थामा रहेको भन्दै नागरिकस्तरबाट गुनासो बढेको उल्लेख गरेका छन् ।

परिपत्रमा नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा जोगाउनु प्रत्येक नागरिक तथा राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गरिएको छ । साथै ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा सधैं सफा, सग्लो र मर्यादित अवस्थामा राख्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय झण्डाको अवस्था तत्काल निरीक्षण गरी आवश्यक सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ । निर्देशनअनुसार च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झण्डा तत्काल हटाई तोकिएको मापदण्डअनुसारका नयाँ राष्ट्रिय झण्डा राख्नुपर्नेछ ।

यस्तै, सार्वजनिक स्थानमा राखिएका झण्डाको नियमित अनुगमन गर्ने व्यवस्था विकास गर्न, प्रयोगयोग्य नरहेका वा मक्किएका झण्डालाई जथाभावी नफालेर कार्यविधिअनुसार सम्मानपूर्वक तथा सुरक्षित रूपमा विसर्जन गर्न पनि स्थानीय तहलाई भनिएको छ । झण्डा राखिएका स्थानको सरसफाइ, संरक्षण र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै वहन गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय झण्डाको गरिमा र मर्यादा कायम राख्न जारी गरिएको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तहसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *