
रौतहट,१६ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, कुटपिट तथा लेनदेन बिगोसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–५ का ओमनाथ गिरी, शिवशंकर पाण्डे र राकेश कुमार जैसवाल, गरुडा–३ का पनिलाल सहनी, गरुडा–५ का शिवशंकर पाण्डे, कटहरिया नगरपालिका–७ का सोनालाल भगत, माधवनारायण नगरपालिका–४ का परशुराम यादव र राजदेव यादव तथा गढीमाई नगरपालिका–९ का राम ईश्वर सहनी रहेका छन्।
प्रहरीले अदालतबाट तोकिएको कुल ६ हजार ७ सय रुपैयाँ जरिवाना असुली तथा फैसला कार्यान्वयनका लागि पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार जिल्ला अदालत रौतहटमा उपस्थित गराउने जनाएको छ।
फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया