
काठमाडौं,११ असार । दक्षिण अमेरिकी देश भेनेजुएला मा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।
स्थानीय समयअनुसार साँझ करिब ६ बजेपछि ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्प लगातार गएको जनाइएको छ। भूकम्पपछि धेरै स्थानमा भवनहरू भत्किएका छन् भने उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको अधिकारीहरूले बताएका छन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ले भग्नावशेषमा पुरिएकाहरूको खोजी जारी रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएकी छन्। उनले देशभर संकटकाल घोषणा गरिएको पनि जानकारी दिइन्।
राष्ट्रपति रोड्रिगेजका अनुसार भूकम्पले धेरै राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र ‘ला गुआइरा’ राज्य रहेको बताइएको छ, जसको हताहती विवरण भने हालसम्म पूर्ण रूपमा सार्वजनिक गरिएको छैन।
सरकारी निकाय र उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र बनाएका छन् भने थप विवरण संकलन भइरहेको छ।


प्रतिक्रिया