वीरगन्ज :

रास्वपा महाधिवेशनको चहलपहलः कार्ड वितरण सुरु, बन्दसत्रको तयारी तीव्र

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.4kViews
1648 Shares

वीरगंज (पर्सा), ९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत स्थगित भएको बन्दसत्र आज दिउँसो १ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतिनिधिको संख्या अपेक्षाभन्दा धेरै बढ्दा उत्पन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण हिजोका लागि तय गरिएको बन्दसत्र हुन सकेको थिएन।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार हाल महाधिवेशन प्रतिनिधिहरूलाई प्रवेश कार्ड वितरण गर्ने कार्य जारी छ। उक्त प्रक्रिया सम्पन्न भएपछि प्रतिनिधिहरूलाई भोजनको समय छुट्याएर दिउँसो १ बजेदेखि बन्दसत्रको औपचारिक कार्यक्रम सुरु गरिनेछ।

उनले पार्टीले सुरुमा करिब २८ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरे पनि वास्तविक संख्या ४ हजार २ सयभन्दा बढी पुगेकाले व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको बताए। प्रतिनिधिको अप्रत्याशित उपस्थितिका कारण आवश्यक तयारी प्रभावित हुँदा हिजो बन्दसत्र सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

उपनेता पराजुलीले बन्दसत्रमा भएको ढिलाइका कारण महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूले भोग्नुपरेको असुविधाप्रति पार्टीका तर्फबाट क्षमायाचनासमेत गरेका छन्।

पार्टीका अनुसार महाधिवेशनको कार्यतालिकाअन्तर्गत बन्दसत्रअघि गरिनुपर्ने अन्य सबै कार्यक्रमहरू भने निर्धारित समयमै सम्पन्न भइसकेका छन्। अब आजबाट सुरु हुने बन्दसत्रले महाधिवेशनका महत्वपूर्ण एजेन्डामाथि औपचारिक छलफल अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *