वीरगन्ज :

बारागढी गापाको ३९ करोड ७७ लाख बजेट सार्वजनिक, कृषि, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
2.1kViews
1427 Shares

खोपवा (बारा), ८ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७७ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित गाउँसभामार्फत दोस्रो कार्यकालको नवौं नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार बारागढीको मूल आधार’ भन्ने नारासहित सार्वजनिक गरिएको बजेटले समग्र विकास, सेवा प्रवाह सुधार तथा स्थानीयस्तरमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

बजेटको मुख्य स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र राजस्व बाँडफाँड रहेको छ । सार्वजनिक विवरणअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ५७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ८ करोड ७९ लाख १९ हजार रुपैयाँ तथा विशेष अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ४१ लाख ३१ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ४० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ ३० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड रुपैयाँ समेत समावेश गरी कुल बजेटको आकार निर्धारण गरिएको जनाएको छ ।

खर्चतर्फ चालु तथा प्रशासनिक कार्य सञ्चालनका लागि ९ करोड ५९ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको छ । विकास निर्माण तथा पूँजीगत कार्यक्रम सञ्चालनका लागि १२ करोड १५ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ । यस्तै संघीय सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानअन्तर्गत १७ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत १ करोड रुपैयाँ खर्च गरिनेछ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य सेवा, खानेपानी तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर तयार गरिएको जनाएको छ । स्थानीयस्तरको आर्थिक तथा सामाजिक विकासलाई गति दिने उद्देश्यसहित बजेट तर्जुमा गरिएको गाउँपालिकाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *