वीरगन्ज :

प्रदेश सरकारलाई आफ्नै प्रहरी चाहिन्छ : मुख्यमन्त्री यादव

श्रेणी : मधेस

5 hours
Pradeep Sah
1.7kViews
1164 Shares

जनकपुर,०४ असार । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेशलाई आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचना नहुँदा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा अन्य सार्वजनिक सेवाका काम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भइरहेको बताएका छन्।

जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा कार्यशालामा बोल्दै उनले संघीय व्यवस्थाअनुसार प्रदेशलाई आवश्यक अधिकार हस्तान्तरण नभएको गुनासो गरे। प्रदेश सरकार आफ्नै प्रहरी र प्रशासनिक संरचनाविहीन अवस्थामा रहेकाले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ थियो।

मुख्यमन्त्री यादवले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहे पनि पर्याप्त बजेट, स्रोत–साधन र अधिकारको अभाव प्रमुख चुनौती बनेको उल्लेख गरे। प्रदेशलाई अधिकार र जिम्मेवारी दुवै पूर्ण रूपमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदादेवी थापा ले सडक दुर्घटना कम गर्न जनचेतना सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताइन्। विद्यालयस्तरमा ट्राफिक शिक्षाको अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उनले समुदाय र महिला समूहसम्म सचेतना अभियान विस्तार गर्नुपर्ने धारणा राखिन्।

त्यस्तै, राजकुमार सिंह ले सडक सुरक्षाका लागि तथ्यमा आधारित नीति निर्माण, पूर्वाधार सुधार र विभिन्न निकायबीच समन्वय आवश्यक रहेको बताए।
मधेश प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारी ले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पर्याप्त अधिकार र बजेट आवश्यक पर्ने बताएका छन्। सडक दुर्घटनाका कारण पहिचान गरी नीतिगत सुधार गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यशालामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रम Asian Development Bank, राष्ट्रिय सडक सुरक्षा परिषद् नेपाल र मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *