वीरगन्ज :

सात महिनादेखि तलबविहीन जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलनमा, जनकपुरधाममा धर्ना

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.8kViews
1546 Shares

वीरगंज (पर्सा), २ असार । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले लामो समयदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उनीहरू जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्नामा बसेका छन्।

आन्दोलनरत कर्मचारीका अनुसार उनीहरूले गत कात्तिक महिनादेखिको तलबसहित चाडपर्व खर्चसमेत हालसम्म प्राप्त गरेका छैनन्। आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि सेवा अवधि थप्ने तथा करार नवीकरणसम्बन्धी प्रक्रिया टुंगोमा नपुगेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।

प्रयोगशालाकर्मी अनिल महतोले सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भएको बताए। उनले सेवा निरन्तरताको विषय समेत अन्योलमा परेकाले समस्या झन् जटिल बन्दै गएको उल्लेख गरे।

संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले कर्मचारीका माग र समस्याबारे सम्बन्धित निकायलाई पटक–पटक लिखित तथा मौखिक जानकारी गराइएको भए पनि कुनै ठोस पहल नभएको गुनासो गरे। उनले सरोकारवाला निकायबाट निरन्तर बेवास्ता भएपछि आन्दोलनको बाटो रोज्नुपरेको बताए।

आन्दोलनरत कर्मचारीहरूले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

उनीहरूको मुख्य मागमा रोकिएको तलबको भुक्तानी, सेवा सम्झौताको नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ताको व्यवस्था समावेश छ। कर्मचारीहरूले आफ्ना जायज माग तत्काल सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त र व्यापक बनाउने चेतावनी दिएका छन्।

लामो समयदेखि सेवा–सुविधाबाट वञ्चित रहेको भन्दै उनीहरूले प्रदेश सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन र स्वास्थ्य क्षेत्रका कर्मचारीको मनोबल खस्किने अवस्था अन्त्य गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *