
वीरगन्ज, २७ जेठ । पर्सागढी नगरपालिका–२ बगवन्नास्थित पर्सागढी जनस्वास्थ्य प्रयोगशाला आवश्यक ल्याब सामग्री अभावका कारण करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। सेवा ठप्प हुँदा स्थानीय सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नगरपालिकाको सहकार्यमा सञ्चालित प्रयोगशालाबाट सञ्चालन हुने परीक्षण सेवा आवश्यक सामग्री नहुँदा रोकिएको हो।
स्थानीय बासिन्दा आशिष अधिकारीका अनुसार पहिले न्यूनतम शुल्कमा सहज रूपमा उपलब्ध हुने परीक्षण सेवा बन्द भएपछि सामान्य जाँचका लागि समेत वीरगन्ज जानुपर्ने बाध्यता सिर्जना भएको छ। यसले समय र आर्थिक दुवै भार बढाएको उनले बताए।
ल्याब टेक्निसियन अताउल्लाह अन्सारीका अनुसार प्रयोगशाला २०७९ सालमा स्थापना भए पनि हाल सेवा शुल्क व्यवस्थापन र सामग्री आपूर्तिसम्बन्धी प्रक्रियामा समस्या देखिएपछि सेवा अवरुद्ध भएको हो।
प्रदेशतर्फ शुल्क जम्मा गर्न थालिएपछि आवश्यक ल्याब सामग्री उपलब्ध नभएको उनको भनाइ छ। मधुमेह, टाइफाइड, मलेरिया, डेङ्गी, जन्डिस, क्षयरोग (टीबी) लगायतका विभिन्न परीक्षण सेवा बन्द भएपछि स्थानीयवासी निजी प्रयोगशाला वा टाढाका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।
स्थानीयले तत्काल आवश्यक सामग्री आपूर्ति गरी प्रयोगशाला पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


प्रतिक्रिया