वीरगन्ज :

पत्नीको हत्या गरी फरार भएका अभियुक्त ६ दिनपछि पक्राउ

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1777 Shares

बीरगन्ज,१८ जेठ । आफ्नै पत्नीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले घटनाको ६ दिनपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बीरगन्ज महानगरपालिका–१०, बजरङ्ग टोल निवासी रामनारायण दास तत्मालाई महोत्तरीबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार जेठ १४ गते पारिवारिक विवादका क्रममा रामनारायणले आफ्नी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीमाथि फलामे हतियार प्रहार गरेका थिए। गम्भीर चोटका कारण हलसियाकुमारीको घटनास्थलमै मृत्यु भएको थियो। घटना लगत्तै रामनारायण फरार भएका थिए।

अभियुक्तको खोजीका लागि पर्सा प्रहरीले प्राविधिक तथा स्थलगत अनुसन्धानलाई तीव्र बनाएको थियो। अन्य जिल्लाका प्रहरी कार्यालयहरूसँग समेत समन्वय गरी खोजी अभियान सञ्चालन गरिएको थियो।

यसै क्रममा महोत्तरी जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रामगोपालपुर नगरपालिका क्षेत्रमा लुकिछिपी बसेका रामनारायणलाई शनिबार पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पर्सा ल्याइएको छ। हाल उनीविरुद्ध ‘कर्तव्य ज्यान’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो घटनाले घरेलु हिंसा तथा अत्यधिक मदिरा सेवनका कारण उत्पन्न हुने गम्भीर सामाजिक समस्याप्रति पुनः ध्यानाकर्षण गराएको छ। स्थानीयवासीहरू यस घटनाबाट स्तब्ध बनेका छन् भने यस्ता घटनाको रोकथामका लागि सचेतना र प्रभावकारी हस्तक्षेप आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *