वीरगन्ज :

वीरगञ्जमा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै, उत्कृष्ट खेलाडीलाई दैनिक रु १ हजार पुरस्कार

श्रेणी : खेलकुद

2 hours
Pradeep Sah
2.9kViews
1251 Shares

वीरगन्ज,१७ जेठ । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताको सह–आयोजकका रूपमा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छ।

आयोजकका अनुसार प्रतियोगिता आगामी जेठ १८ गतेदेखि २५ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा जेठ १८ गते मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालय आमनेसामने हुनेछन्। त्यसपछि जेठ १९ गते बिकन र लिटल फ्लावर, जेठ २० गते मोडर्न र नवदीप तथा जेठ २१ गते साउथ जोन, काभेरी र अल्पाइन विद्यालयका टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रारम्भिक चरणका विजेता टोलीहरू सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ २५ गते आयोजना गरिने कार्यक्रम छ।

प्रतियोगितालाई थप आकर्षक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर सञ्चालन हुने सातै दिनका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई दैनिक नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जानकारी दिएका छन्।

उपाध्यायले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

वीरगञ्जमा फुटबल खेलको लोकप्रियता जोगाइराख्ने तथा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको वीरगञ्ज यूथ एकेडेमीले जनाएको छ। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबल गतिविधिलाई थप सक्रिय र चलायमान बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *