वीरगन्ज :

तातो मौसममा चिसोपेयको लत, स्वास्थ्यलाई भने गम्भीर खतरा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.8kViews
1174 Shares

बीरगन्ज,०९ जेठ । गर्मी मौसम सुरु भएसँगै बजारमा चिसो अनुभूति दिने पेय पदार्थहरूको प्रयोग र बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ। कार्बोनेटेड ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, प्याकेट बन्द जुस, आइसक्रिम लगायतका वस्तुहरू गर्मी छल्नका लागि व्यापक रूपमा प्रयोग भइरहेका छन्।

तर विशेषज्ञका अनुसार तुरुन्तै शीतलता दिने यस्ता पेय पदार्थहरू दीर्घकालीन रूपमा स्वास्थ्यका लागि फाइदाजनक भने हुँदैनन्। यी पेयहरूले डिहाइड्रेसन, पाचन समस्या, मोटोपना र मधुमेहको जोखिम बढाउन सक्ने बताइन्छ।

कार्बोनेटेड पेय र चिनीयुक्त ड्रिङ्क्स

कार्बोनेटेड पेयलाई धेरैले ऊर्जा र स्फूर्ति दिने तथा तिर्खा मेट्ने विकल्पका रूपमा लिने गर्छन्। तर वास्तविकतामा यसमा रहेको उच्च चिनी र क्याफिनले रक्तचिनी अचानक बढाउने, पछि थकान ल्याउने तथा शरीरमा डिहाइड्रेसनको जोखिम बढाउने बताइन्छ। साथै पेट फुल्ने र एसिडिटीजस्ता समस्या पनि देखिन सक्छन्।

फलफूल स्वादका प्याकेट जुस

फलफूलयुक्त भन्दै प्रयोग गरिने प्याकेट जुसहरूलाई स्वस्थ विकल्प ठानिने भए पनि यस्ता पेयमा प्रायः उच्च चिनी, कृत्रिम स्वाद र रङ प्रयोग हुने गर्छ। यसले रगतमा चिनीको मात्रा बढाउने, कलेजोमा दबाब पार्ने तथा लामो समयसम्म मोटोपना र इन्सुलिन प्रतिरोधको जोखिम बढाउने देखिन्छ।

चिसो सोडापानी

चिसो सोडापानीले तुरुन्त राहत दिने महसुस भए पनि यसले पेट फुल्ने, एसिडिटी बढाउने तथा पाचन प्रक्रियामा असर पार्न सक्ने बताइन्छ। बारम्बार सेवन गर्दा शरीरको खनिज सन्तुलनमा समेत असर पर्न सक्ने उल्लेख छ।

आइसक्रिम

गर्मीमा लोकप्रिय आइसक्रिमले तत्काल शीतलता दिए पनि यसमा हुने चिनी र बोसोका कारण क्यालोरी बढ्ने, मोटोपना तथा घाँटीसम्बन्धी समस्याको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ।

अत्यधिक चिसो पानी

धेरै चिसो पानी पिउनाले पनि शरीरको पाचन प्रक्रिया सुस्त हुन सक्ने र घाँटी तथा पेटसम्बन्धी समस्या निम्त्याउन सक्ने चेतावनी दिइन्छ।

के पिउने त गर्मीमा?

स्वास्थ्यविद्हरूका अनुसार प्रशोधित पेयभन्दा प्राकृतिक र हल्का पेय पदार्थ उपयुक्त हुन्छन्। जस्तै:

दही, मोही, बटरमिल्क
कागती पानी, बेलको सर्वत
नरिवल पानी, पुदिना मिसाइएको पानी
तरबुजा, खर्बुजा, काँक्रो जस्ता पानीयुक्त फलफूल

साथै पर्याप्त मात्रामा पानी सेवन अत्यावश्यक रहेको बताइन्छ। सामान्यतया वयस्कले दैनिक २.५ देखि ३.५ लिटरसम्म पानी पिउनुपर्ने भए पनि यो मात्रा मौसम, स्वास्थ्य अवस्था र शारीरिक गतिविधिअनुसार फरक हुन सक्ने चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *