
महोत्तरी,०९ जेठ । महोत्तरीमा शुक्रबार डुबेर चार जना बालिकाको ज्यान गएको छ। जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा बालिकाहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँमा नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा वीरेन्द्र भण्डारीकी १२ वर्षीया स्नेहाकुमारी भण्डारी, ६ वर्षीया शिवानीकुमारी भण्डारी तथा अजिज नदाफकी १२ वर्षीया अफसाना खातुन रहेका छन्।
प्रहरीका अनुसार तीनै जना बालिका दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लिएपछि उनीहरू नदीमा डुबेका थिए।
यस्तै गौशाला नगरपालिका–४ रजखोर गाउँमा पनि एक बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय नरेश महतोकी दुई वर्षीया छोरी दीपिका कुमारी घर नजिकै खेतमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेकी थिइन्।
चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।


प्रतिक्रिया