वीरगन्ज :

विज्ञापन नीतिको विरोधमा पर्साका पत्रकारद्वारा हस्ताक्षर अभियान

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1782 Shares

वीरगंज (पर्सा), ७ जेठ । सरकारी खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले देशभर दबाबमूलक अभियान थालेको छ । यही अभियानअन्तर्गत पर्सामा पनि सप्ताहव्यापी हस्ताक्षर संकलन सुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा वीरगंजस्थित मुर्ली बगैचामा रहेको शाखा कार्यालयमा सुरु गरिएको अभियानमा जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ । सहभागीहरूले हस्ताक्षर गर्दै सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

महासंघले सरकारको यस्तो निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने तथा सञ्चार क्षेत्रमै विभेदपूर्ण अवस्था सिर्जना गर्ने जनाएको छ । अभियानको पहिलो दिन आयोजित कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चारमाध्यमबीच विभेद गर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पारे । उनीहरूले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको संकुचनविरुद्ध सबै पत्रकार, सञ्चारकर्मी तथा नागरिकलाई हस्ताक्षर अभियानमा सहभागी भई खबरदारी गर्न समेत आह्वान गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा भएको अभियान उद्घाटन कार्यक्रममा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका पूर्वअध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

महासंघका अनुसार हस्ताक्षर अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिनेछ भने संकलित हस्ताक्षर सरकारसमक्ष बुझाइने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *