वीरगन्ज :

जीतपुरसिमराका निजी विद्यालयको कमजोर अवस्था उजागर

श्रेणी : मधेस

15 hours
Pradeep Sah
2.6kViews
1753 Shares

बारा,०६ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूको पहिलोपटक विस्तृत अनुगमन तथा वर्गीकरण गरेको छ। शिक्षा शाखाले विभिन्न सूचकका आधारमा गरेको मूल्याङ्कनमा अधिकांश विद्यालय न्यूनतम मापदण्डमै सीमित रहेको पाइएको हो।

उपमहानगरपालिकाद्वारा सार्वजनिक गरिएको नतिजाअनुसार मूल्याङ्कन गरिएका ४९ वटा संस्थागत विद्यालयमध्ये वडा नं. ४ स्थित सेन्ट अल्फान्सस् स्कुल मात्रै ‘ख’ वर्गमा पर्न सफल भएको छ। बाँकी ४८ विद्यालय ‘ग’ वर्गमा वर्गीकृत भएका छन् भने उत्कृष्ट मापदण्डसहित ‘क’ वर्गमा कुनै पनि विद्यालय पर्न सकेनन्।

शिक्षा शाखा अधिकृत हरिष भट्टका अनुसार विद्यालयको भौतिक संरचना, कक्षाकोठाको अवस्था, खेलमैदान, छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ खानेपानी, विज्ञान तथा कम्प्युटर प्रयोगशाला र आपत्कालीन सुरक्षा व्यवस्था जस्ता सूचकलाई आधार मानेर वर्गीकरण गरिएको हो। अनुगमन टोलीले विद्यालयमै पुगेर स्थलगत निरीक्षण गरी विवरण सङ्कलन गरेको उनले बताए।

निजी विद्यालयहरूले उच्च शुल्क लिने तर गुणस्तरीय सेवा र पर्याप्त पूर्वाधार उपलब्ध नगराएको गुनासो बढिरहेका बेला गरिएको यो वर्गीकरणलाई उपमहानगरपालिकाले सुधारको आधार मानेको छ। शिक्षा शाखाले विद्यालय शुल्कमा वैज्ञानिक एकरूपता ल्याउन र संस्थागत विद्यालयलाई जिम्मेवार तथा व्यवस्थित बनाउन यो कदम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

उपमहानगरपालिकाले ‘ग’ वर्गमा परेका विद्यालयहरूलाई आवश्यक भौतिक तथा शैक्षिक सुधार गर्न निर्देशन दिएको छ। सुधार नगर्ने विद्यालयलाई अझ तल्लो वर्गमा झार्ने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिने चेतावनी शिक्षा शाखाले दिएको छ।

अधिकृत भट्टले आगामी दिनमा अनुगमनलाई अझ कडा र प्रभावकारी बनाइने बताउँदै सुधार गर्ने विद्यालयलाई माथिल्लो वर्गमा उक्लिने अवसर पनि दिइने स्पष्ट पारे।

उपमहानगरपालिकाले वर्गीकरणसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि विद्यालयहरूलाई सुधारका बुँदासहित लिखित सुझावसमेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *