वीरगन्ज :

प्रहरी, अस्पताल र अदालत धाउन नपर्ने समाज बनाऔं, सभ्य समाजको निर्माण गरौँः आईजिपी

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.0kViews
1211 Shares

वीरगंज (पर्सा), ३० वैशाख । वीरगंजमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको सुरक्षा, न्यायमा पहुँच र सभ्य समाज निर्माणको सन्देशसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पर्सा जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् । बुधबार आयोजित विशेष समारोहमा उद्घाटन गरिएको उक्त सुविधा सम्पन्न भवन बेलायत सरकारको करिब दुई करोड ४८ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय यूएनओपीएस अन्तर्गत नेपाल प्रहरीमा सञ्चालन भइरहेको ‘सुरक्षा तथा न्याय कार्यक्रम’ मार्फत निर्माण गरिएको भवन महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई सुरक्षित, सहज तथा पीडितमैत्री वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको जनाइएको छ । भवन उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले समाजलाई यस्तो दिशातर्फ लैजानुपर्ने आवश्यकता रहेको बताए, जहाँ नागरिकलाई प्रहरी कार्यालय, अस्पताल वा अदालतसम्म पुग्नुपर्ने अवस्था नै नआओस् ।

उनले सचेत, अनुशासित र जिम्मेवार समाज निर्माणको अभियान वीरगंजबाट सुरु गर्न आग्रह गर्दै सभ्यता निर्माण व्यवहार, संस्कार र सामाजिक उत्तरदायित्वबाट सुरु हुने उल्लेख गरे । उनले जीवनमा तीन ठाउँ ‘प्रहरी कार्यालय, अस्पताल र अदालत’ जान नपर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । झैझगडा, मादक पदार्थ सेवन, लापरवाही र कानूनी विवादका कारण नागरिकले दुःख पाउने अवस्थाको अन्त्यका लागि सामूहिक चेतना आवश्यक रहेको उनको भनाइ थियो । ‘सभ्य समाज निर्माणको शुरुआत वीरगंजबाटै गरौं,’ उनले भने ।

आईजीपी कार्कीले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, संवेदनशील र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । उनले प्रहरी संगठनलाई जनमैत्री र पीडितमैत्री बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै अझै देशका धेरै प्रहरी चौकी भवनविहीन अवस्थामा रहेको बताए । आधारभूत पूर्वाधारको अभाव क्रमशः समाधान गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले नयाँ सेवा केन्द्रले महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई न्याय तथा संरक्षणसम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

कार्यक्रममा उनले प्रहरी कार्यालयहरूमा पञ्चायतीको नाममा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न देशभरका मातहत प्रहरी इकाइलाई निर्देशन दिइसकेको जानकारी पनि दिए । मुद्दासँग प्रत्यक्ष सरोकार भएका पक्षबाहेक अन्य व्यक्तिलाई प्रहरी कार्यालय प्रवेशमा रोक लगाउने नीति लागू गरिएको उल्लेख गर्दै केही व्यक्तिहरू कानूनका जानकारको रूपमा प्रस्तुत भई अनावश्यक हस्तक्षेप गर्ने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

आईजीपी कार्कीले मादक पदार्थ तथा लागूऔषध सेवनका कारण घरेलु हिंसासहित विभिन्न अपराधका घटना बढिरहेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रूपमा लागेको जानकारी दिए । सहायक तथा चोरबाटो प्रयोग गरी हुने तस्करी र राजस्व छलि नियन्त्रण गर्न प्रहरीलाई कडाइका साथ परिचालन गरिएको उल्लेख गर्दै भन्सारका मूल नाकाबाट राजस्व वृद्धि हुने वातावरण निर्माणमा सुरक्षा निकायको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।उनले प्रहरी कर्मचारीलाई कानूनी दायराभित्र रहेर निडर, निष्पक्ष र सेवामुखी ढंगले काम गर्न निर्देशन दिँदै सेवाग्राहीसँग व्यवहार गर्दा भाषागत शुद्धता, शिष्टता, व्यवहारिकता तथा समयमै काम सम्पन्न गर्ने बानी विकास गर्नुपर्ने बताए । आफ्नो क्षेत्राधिकारको ख्याल राख्दै जिम्मेवारीपूर्वक सेवा प्रवाह गर्न उनले मातहत प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए ।

समृद्धिको मापन केवल अग्ला भवन, चिल्ला सवारीसाधन वा आकर्षक शहरले मात्र नहुने उल्लेख गर्दै उनले भाषा, बोली, व्यवहार, सामाजिक संस्कार र आपसी सद्भाव पनि उत्तिकै महत्वपूर्ण विषय भएको बताए । वीरगंजलाई विशाल हृदय भएका मानिसहरूको शहरका रूपमा चिनाउन सामाजिक एकता, सहिष्णुता र सद्भाव कायम राख्नुपर्नेमा उनले विशेष जोड दिए । प्रहरी पनि समाजकै अभिन्न अंग भएकाले प्रहरी संगठनलाई नागरिकको साथ, विश्वास र सहानुभूति आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाहका लागि प्रहरी र समुदायबीचको सहकार्य अझ मजबुत हुनुपर्ने धारणा व्यक्त गरे ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरीका अझैपनि एक हजार ३५६ वटा अस्थायी चौकीका भवन अपर्याप्त रहेकाले पनि व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भने, ‘सर्वसाधारणले प्रहरीचौकी चाहियो भनेर माग गरि रहेको अवस्थामा प्रहरीचौकी निर्माणका लागि सहयोगी हात भने अपेक्षित ढङ्गमा आउन नसकेको बताए । जसले गर्दा अधिकांश चौकीमा आधारभूत सेवासुविधा प्रदान गर्न पनि समस्या भइरहेको उनको भनाई छ ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सेवाकेन्द्रले लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्नका लागि अनुरोध गरे । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसका पूर्वाधार म्यानेजर शिशिर उपाध्यायले रू दुई करोड ४८ लाखको लागतमा भवन तयार पारेर जिल्ला प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरिएको बताए । ‘यो भवनबाट पक्कै पनि लक्षित समूहले सेवा प्राप्त गर्नका लागि सहज हुनेछ’, उनले भने, ‘यो भवन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री भवन भएकाले पनि सेवा प्रवाहमा सहज हुने आशा र अपेक्षा राखेका छौँ ।’

भवन भने एक हजार ४०० वर्गफिट क्षेत्रफल रहेको छ । भवन निर्माणको काम भने रोयल कन्स्ट्रक्सन कैलालीले गरेको हो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिस (युएनओपिएस) का अपरेसन कोर्डिनेटर इन्द्र न्यौपानेले युएनओपिएसले १५ जिल्लामा १५ वटा भवन निर्माण गरेको बताए । अहिलेसम्म आठ वटा यस्ता भवनको उद्घाटन भइसकेको छ भने अन्य सात स्थानमा अन्तिम चरणमा पुगेको छ ।

उद्घाटन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका उप–प्रमुख इमतियाज आलम, पर्सा जिल्ला अदालतका प्रमुख गायत्री प्रसाद रेग्मी, जिल्ला अदालत पर्साका न्यायधिवक्ता मनोज प्रसाद गुप्ता, शान्तिराज कोइराला, भिम बहादुर दाहाल, पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, पत्रकार महासंघका प्रतिनिधि अशोक तिवारी तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल लगायत सरकारी, न्यायिक, सुरक्षा तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *