वीरगन्ज :

बीरगन्जमा एसईई नतिजापछि १५ वर्षीय किशोर मृत फेला

श्रेणी : BANNER

9 hours
Pradeep Sah
2.7kViews
1470 Shares

बीरगन्ज,२९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि निराश बनेका बीरगन्जका एक किशोरले आत्महत्या गरेका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिका–२ घर भई हाल बीरगन्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका १५ वर्षीय शन्नी पटेलले सोमबार राति आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्। उनी बीरगन्जस्थित पिपराको नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए।

परिवारका सदस्यका अनुसार एसईई नतिजा सार्वजनिक भएपछि शन्नी तनाव र चिन्तामा देखिएका थिए। परिवारले सम्झाउने प्रयास गरिरहेकै बेला उनी अचानक कोठाभित्र गएर ढोका बन्द गरेका थिए। केही समयपछि ढोका नखुलेपछि परिवारले फुटाएर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यस घटनाले परीक्षाको नतिजाका कारण विद्यार्थीमाथि पर्ने मानसिक दबाबबारे पुनः गम्भीर प्रश्न उठाएको छ। शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले परीक्षाको परिणामलाई जीवनको अन्तिम निर्णय नठान्न र अभिभावकले बालबालिकाको मानसिक अवस्थाप्रति संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *