वीरगन्ज :

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
1.6kViews
1304 Shares

काठमाडौं,२४ वैशाख । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले संघीय संरचनामा व्यापक पुनर्संरचनाको प्रस्ताव अघि सारेका छन्। संविधान संशोधनको बहस चलिरहेका बेला उनले प्रदेश सरकार र जिल्ला समन्वय समिति (जिसस) खारेज गरी केन्द्र र स्थानीय तह मात्रै कायम राख्न सुझाव दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले हालको संघीय संरचना प्रभावकारी हुन नसकेको संकेत गरेका छन्। उनले पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउँदै आएको संघीयता खारेजको बहसलाई स्मरण गर्दै अब संविधान संशोधन गर्ने हो भने शासन संरचनालाई थप सरल र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउँदै महिला र पुरुषको समान ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। साथै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, प्रतिनिधि सभामा रहेको समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीलाई प्राथमिकता दिनुपर्ने बास्कोटाको धारणा छ। उनले प्रत्यक्ष निर्वाचनमा महिला–पुरुषको ४०–६० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने उल्लेख गरेका छन्।

बास्कोटाको यो अभिव्यक्तिलाई संविधान संशोधनबारे दलहरूबीच सुरु हुन लागेको बहससँग जोडेर हेरिएको छ। संघीय संरचनाको प्रभावकारिता, खर्च र अधिकार बाँडफाँटबारे पछिल्लो समय विभिन्न राजनीतिक दल र नेताहरूले फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *