वीरगन्ज :

७ महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलितः छिपहरमाई गाउँपालिकाको सेवा ठप्प

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.7kViews
1517 Shares

वीरगंज (पर्सा), १५ वैशाख । तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिका मा कार्यरत करार कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । सोमबारदेखि सुरु गरिएको तालाबन्दी र धर्ना कार्यक्रम मंगलबार दोस्रो दिन पनि जारी रहँदा गाउँपालिकाको सम्पूर्ण सेवा प्रभावित बनेको छ ।

गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले सात महिनादेखि पारिश्रमिक नपाएको गुनासो गर्दै बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भिस्वा स्थित गाउँ कार्यपालिकाको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । उनीहरूको आन्दोलनका कारण प्रशासनिक कामकाज पूर्ण रूपमा ठप्प भएको छ ।

कर्मचारीहरूले लामो समयदेखि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको बताएका छन् । तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक पहल गर्दा पनि कुनै ठोस प्रतिक्रिया नआएको उनीहरूको आरोप छ ।

उनीहरूका अनुसार गाउँपालिका र मातहतका पाँचवटै वडा कार्यालयमा कार्यरत करिब ५० जना कर्मचारी सात महिनादेखि तलबविहीन अवस्थामा छन् । आन्दोलनका कारण सेवा प्रवाह अवरुद्ध हुँदा सेवाग्राहीहरू अत्यावश्यक सेवा लिनबाट वञ्चित भएका छन् ।

यसैबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानको सरुवा भई संजीव कुमार साहलाई जिम्मेवारी तोकिए पनि उनी हालसम्म कार्यालयमा हाजिर नभएको जनाइएको छ, जसले समस्या थप जटिल बनेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *