वीरगन्ज :

एमाले पर्साको ७७औँ वार्षिकोत्सव सम्पन्न

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.4kViews
1838 Shares

बीरगन्ज,०९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा रामगढवास्थित मनमोहननगर पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रभू हजराले पछिल्लो समय पार्टी आन्तरिक चुनौती र अन्तरविरोधबाट प्रभावित भएको स्वीकार गर्दै समीक्षा गरी सुधारसहित अघि बढ्नुपर्नेमा जोड दिए। उनले संगठनलाई सुदृढ बनाउँदै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अर्का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगीले पार्टीलाई जनताको समस्या र आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। “जनताबाट टाढा रहेर कुनै पनि आन्दोलन सफल हुँदैन,” उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान राजनीतिक अवस्था र संगठन सुदृढीकरणबारे धारणा राखे।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले एक चुनावी हारले एमालेजस्तो ऐतिहासिक पार्टी समाप्त नहुने उल्लेख गर्दै समयअनुसार नेतृत्व हस्तान्तरण र संगठनात्मक रूपान्तरण आवश्यक रहेको बताए। उनले केही सीमित नेताहरूले पार्टीलाई निजी कम्पनीझैँ सञ्चालन गर्ने प्रवृत्तिले संगठन कमजोर बनेको आरोप पनि लगाए।

कार्यक्रम विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मनोज कुशवाहाले गरेका थिए। कार्यक्रममा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, नेता जालिम मियाँ, नगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली, प्रद्युम्न चौहानलगायत नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *