वीरगन्ज :

जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ निर्णय: अब नागरिकता बनाउँदा साथमै राष्ट्रिय परिचय पत्र पनि उपलब्ध हुने

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.9kViews
1120 Shares

वीरगंज, ३ वैशाख – जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वितरण गर्ने नयाँ सेवा आजदेखि सुरु गरेको छ। सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वैशाख ३ गतेदेखि नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई सोही समयमा राष्ट्रिय परिचयपत्र पनि उपलब्ध गराउन थालिएको हो। “हाल सुरुवाती चरणमा नयाँ नागरिकता लिनेहरूलाई मात्र हातोहात परिचयपत्र दिइरहेका छौं, प्रतिलिपिका हकमा भने यो सेवा लागू गरिएको छैन,” उनले बताए।

यस प्रणालीअन्तर्गत नागरिकताको प्रमाणपत्र तयार भएपछि सोही समयमा बायोमेट्रिक प्रक्रिया सम्पन्न गरी राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै विवरण प्रणालीमा समावेश गरिन्छ। यसले सेवाग्राहीलाई छुट्टै दिन आउनु नपर्ने, लाइन बस्न नपर्ने र अतिरिक्त खर्चसमेत नहुने प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय पर्साका आइटी शाखाका जागृत साहका अनुसार सिसिआइएमएस प्रणालीमार्फत नागरिकताको विवरण स्वतः राष्ट्रिय परिचयपत्र प्रणालीमा समावेश हुने भएकाले प्रक्रिया निकै छिटो भएको हो। “नागरिकता तयार भएको करिब पाँच मिनेटभित्रै राष्ट्रिय परिचयपत्र पनि तयार हुन्छ,” उनले जानकारी दिए।

नयाँ सेवाबाट सेवाग्राहीहरू उत्साहित देखिएका छन्। नागरिकता लिन पुगेकी रञ्जीता कुमारीले नागरिकतासँगै परिचयपत्र प्राप्त गर्दा खुसी व्यक्त गर्दै यस्तो सेवा निरन्तर हुनुपर्ने बताइन्।

जिल्ला प्रशासन कार्यालय पर्साबाट दैनिक करिब ५० देखि ६० जनासम्म नागरिकता वितरण हुँदै आएको छ। नयाँ व्यवस्थासँगै सेवाग्राहीलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *