वीरगन्ज :

लुम्बिनी कृषि मन्त्रालयका तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.7kViews
1568 Shares

काठमाडौं,०२ वैशाख । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीतभण्डार निर्माण योजनामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित विभिन्न पदमा कार्यरत कर्मचारीहरूलाई प्रतिवादी बनाइएको छ। आयोगका अनुसार योजनाअनुसार काम पूरा नगरी अपूर्ण संरचनाकै आधारमा भुक्तानी लिएको भेटिएको छ।
मुद्दामा संलग्न अन्य व्यक्तिहरूमा वरिष्ठ कृषि विकास अधिकृत, कृषि प्रसार अधिकृत, लेखा अधिकृत तथा सह–लेखापाललगायत रहेका छन्। उनीहरूले नियमविपरीत कार्यसम्पादन प्रतिवेदन तयार गरी राज्यकोषबाट रकम निकासा गराएको आरोप लगाइएको छ।
रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–५ स्थित सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा वास्तविक प्रगति नभए पनि कागजी रूपमा सम्पन्न देखाएर भुक्तानी लिएको उजुरीपछि छानबिन सुरु गरिएको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ बराबरको अनियमितता भएको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त रकम बराबर बिगो असुलसहित थप सजायको माग गर्दै मुद्दा अघि बढाइएको आयोगको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *