वीरगन्ज :

अब सरकारी कागजात मोबाइलमै, नागरिक एपमा सुविधा विस्तार हुँदै

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.6kViews
1444 Shares

काठमाडौँ,२७ चैत । अब वैदेशिक अध्ययनका लागि आवश्यक एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (PIS) नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ।

सूचना प्रविधि विभागले यी सेवा नागरिक एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। विभागका अनुसार यी सुविधा आगामी एक साताभित्रै सञ्चालनमा आउने सम्भावना छ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साह ले नयाँ प्रणाली हाल प्राविधिक परीक्षणको चरणमा रहेको जानकारी दिएका छन्। सेवा सुरु भएपछि सरकारी कामका लागि कार्यालय धाउनुपर्ने र लामो लाइन बस्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसका लागि गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ कार्यान्वयन भइरहेको जनाइएको छ। सोही आधारमा सञ्चार मन्त्रालयले समयसीमा तोकेर काम अघि बढाउन निर्देशन दिएको हो।

यसै क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता भइसकेको र भविष्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि डिजिटल रूपमा एपमै उपलब्ध गराउने तयारी गरिएको विभागले जनाएको छ।

सरकारले नागरिक एपलाई सबै सरकारी सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउने डिजिटल प्लेटफर्मका रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ। यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था सफल भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *