वीरगन्ज :

सर्लाहीमा तस्करीविरुद्ध कडा एक्सन, ६०० लिटर मदिरा नष्ट, अटो पक्राउ

श्रेणी : BANNER

16 hours
Pradeep Sah
2.7kViews
1561 Shares

सर्लाही,२७ चैत । सर्लाहीमा सशस्त्र प्रहरीले अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला दिनहरूमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने भन्सार छलीका सामानसहित एक अटो पनि नियन्त्रणमा लिइएको छ।

कविलासी नगरपालिका–८ स्थित अगर्वा चेकपोइन्टमा सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा बेवारिसे अवस्थामा करिब ६०० लिटर घरेलु मदिरा फेला पारेको थियो। उक्त मदिरालाई गणमा ल्याई सुरक्षित राखेपछि सोही दिन स्थानीय जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसै क्रममा केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा संयुक्त गस्ती टोलीले भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा बिलबिजक तथा भन्सार कागजातविहीन किराना सामग्री बरामद गरिएको हो।

अटो चालक, ईश्वरपुर नगरपालिका–६ का करिब ३० वर्षीय बवी महतो पनि नियन्त्रणमा परेका छन्। सुरक्षा स्रोतका अनुसार उनी लामो समयदेखि सीमावर्ती नाकाहरूबाट सामान भित्र्याउने कार्यमा संलग्न रहेको आशंका गरिएको छ।

बरामद गरिएको अटो र सामान सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ। भन्सार कार्यालयका अनुसार करिब ४ लाख ७७ हजार रुपैयाँ बराबरको सामान दाखिला गरिएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी, अवैध मदिरा उत्पादन तथा ओसारपसार नियन्त्रणका लागि चेकजाँच र मोबाइल गस्तीलाई अझ कडा बनाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *