काठमाडौं,२७ चैत । काठमाडौंमा आज प्रतिनिधिसभाको बैठकबाट उपसभामुख चयन गरिँदैछ। दिउँसो ४ बजे बस्ने बैठकले नयाँ उपसभामुखको टुंगो लगाउने कार्यसूची तय गरेको छ।
यसपटक उपसभामुख पदका लागि दुई महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर मैदानमा उत्रिएका छन्। तोकिएको समयसीमाभित्र यी दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो।
रुवीकुमारी ठाकुरको उम्मेदवारीमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई प्रस्तावक छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी र अम्बिकादेवी निरौला समर्थक रहेका छन्। त्यसैगरी सरस्वती लामाको उम्मेदवारीमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही प्रस्तावक र अन्य सांसदहरू समर्थक छन्।
प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेको छ। २७५ सदस्यीय सदनमा १८२ सिट रहेको रास्वपाले जसलाई समर्थन गर्छ, उपसभामुखमा उसैको जित सुनिश्चित हुने देखिएको छ।
आजको निर्वाचनले संसद्को नेतृत्व संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया