बीरगन्ज,२४ चैत । बाराको फेटा गाउँपालिकामा कृषि विद्युतीकरण कार्यक्रमसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीन जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले गौरीशंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गर्दै सजाय तोकेको हो। सोही मुद्दामा मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।
अदालतले मुख्य दोषी ठहरिएका सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकेको छ। त्यस्तै मतियारको भूमिकामा रहेका कम्पनी र प्रबन्ध निर्देशकलाई पनि समान कैद र जरिवाना सजाय सुनाइएको छ।
साथै, तीनै जनालाई अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति स्वरूप जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत बोलपत्र सूचना प्रकाशित भएको देखाएर झुट्टा बिल र भरपाई तयार गरी १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिइएको थियो। सोही आधारमा मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया