वीरगन्ज :

डाटा सकिँदा ‘सर्प्राइज कटौती’ अन्त्य: नेपाल टेलिकमको नयाँ व्यवस्था, ग्राहकलाई राहत दिने प्रयास

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.4kViews
1545 Shares

काठमाडौं,२४ चैत । नेपाल टेलिकमले आफ्नो सेवामा व्यापक सुधार गर्ने घोषणा गरेको छ। ग्राहकबाट लामो समयदेखि उठ्दै आएका गुनासालाई सम्बोधन गर्दै कम्पनीले डाटा व्यवस्थापनदेखि सेवा प्रवाहसम्म नयाँ प्रणाली लागू गर्ने तयारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब डाटा प्याक सकिएपछि प्रयोगकर्ताको मुख्य ब्यालेन्सबाट स्वतः पैसा काटिने व्यवस्था हटाइनेछ। यसको सट्टा ग्राहकलाई थप पारदर्शी विकल्प उपलब्ध गराइनेछ।

टेलिकमले प्रयोगकर्तालाई डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने व्यवस्था लागू गर्नेछ। यसले बाँकी डाटाबारे समयमै जानकारी दिनेछ भने ग्राहकले चाहेको खण्डमा नयाँ प्याकेज लिन वा ‘पे–एज–यू–गो’ मोडमा जान सक्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ अन्तर्गत १० बुँदे सुधार योजना अघि बढाइएको हो। यसअन्तर्गत ग्राहक सेवा, डिजिटल प्रणाली र प्रशासनिक प्रक्रियामा समेत सुधार गरिनेछ।

नेपाल टेलिकमले सेवा प्रक्रियालाई थप सहज बनाउन ‘वन टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी पनि गरेको छ। यसपछि ग्राहकले एक पटक विवरण बुझाएपछि बारम्बार कागजात पेस गर्नुपर्ने झन्झट हट्नेछ।

त्यसैगरी, ई–सिम, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ।

सेवा सुधार अन्तर्गत सबै कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि अघि सारिएको छ, जसबाट ग्राहकले एकै ठाउँबाट सम्पूर्ण सेवा पाउनेछन्।

साथै, फोरजी नेटवर्कको गुणस्तर सुधार, अतिरिक्त फ्रिक्वेन्सी व्यवस्थापन र सेवा विस्तारका काम पनि तीव्र रूपमा अघि बढाइने मन्त्रालयले जनाएको छ।

टेलिकमका अनुसार केही सुधारात्मक व्यवस्था केही दिनदेखि एक महिनाभित्र क्रमशः लागू गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *