काठमाडौं,२२ चैत । शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालमाथि दोस्रोपटक सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबारबाट अग्रवालमाथि औपचारिक छानबिन थालेको हो। यससँगै उनका बुबा शंकरलाल अग्रवालमाथिसमेत सोही आरोपमा अनुसन्धान अघि बढाइएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शंकरलाललाई यसअघि नै पक्राउ गरिसकेको छ भने सुलभ पनि अनुसन्धानको दायरामा आएका छन्।
यसअघि पनि कोभिड–१९ महामारीको समयमा अत्यधिक मूल्यमा थर्मल गन बिक्री गरेको आरोपमा सुलभ पक्राउ परेका थिए। त्यसबेला कालोबजारी मुद्दामा धरौटीमा छुटेपछि उनीमाथि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान अघि बढाइएको थियो, तर प्रक्रिया प्रभावित भएको थियो।
यसपटक भने अग्रवाल परिवार र उनीहरूको व्यापारिक सञ्जालमाथि व्यापक रूपमा छानबिन अघि बढाइएको जनाइएको छ। उनका व्यापारिक साझेदार दीपक भट्ट पक्राउ परेपछि अनुसन्धान थप विस्तार भएको बताइएको छ।
स्रोतका अनुसार, शंकर ग्रुपअन्तर्गत रहेका विभिन्न कम्पनीहरूको आर्थिक कारोबारमाथि समेत निगरानी बढाइएको छ।
यसैबीच, सोही अभियानअन्तर्गत पूर्वमन्त्री दीपक खड्कामाथिसमेत सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया