वीरगन्ज :

वीरगञ्जमा मानवताको सन्देश, २३ महिलासहित ७९ जनाले रक्तदान गर्दै जीवन बचाउने अभियानमा सहभागिता

श्रेणी : मधेस

18 hours
Pradeep Sah
1.9kViews
1952 Shares

बीरगन्ज, २२ चैत । क्वाइनोनिया बीरगन्ज चर्चको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २३ महिला सहित ७९ जनाले रक्तदान गरेका छन्।

“रक्तदान नै जीवनदान” भन्ने नारासहित बीरगन्ज–१६ मिथिलानगरस्थित चर्चले रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा संयोजक जेबिना महर्जनसहित विभिन्न व्यक्तिहरूले रक्तदान गर्दै मानवताको सन्देश फैलाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष परशुराम चौरसियाले यस्तो समयमा गरिएको रक्तदानको प्रशंसा गर्दै नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले बढ्दो गर्मीसँगै रगत अभाव भएको अवस्थामा यस्ता कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीलाई ठूलो राहत पुग्ने बताए।

कार्यक्रम चर्चका पाष्टर राजकुमार घोमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न सामाजिक अगुवा, शिक्षाविद् र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकले छोटो समयमा कार्यक्रम सफल बनाएकोमा सबै रक्तदाता तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *