वीरगन्ज :

वन संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा पर्साको नयाँ पहल, दिगो विकासतर्फ अग्रसरता

श्रेणी : मधेस

18 hours
Pradeep Sah
2.1kViews
1168 Shares

बीरगन्ज,२२ चैत । ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन विकासलाई जोड दिँदै नयाँ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको छ।

रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, रेन्जर कविता दास, उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह लगायतको उपस्थिति थियो।

“वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने नारासहित आयोजित कार्यक्रममा वन संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो। रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सामा पहिलोपटक जंगल रिसोर्टमार्फत प्रकृति, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराउने लक्ष्य रहेको बताए।

पर्यटन प्रवर्द्धनका लागि साझेदारी वनदेखि निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, हात्तीसार सञ्चालन, भ्यू टावर निर्माण तथा वन्यजन्तुका लागि पानीको व्यवस्थापनजस्ता पूर्वाधार विकास आवश्यक रहेको उनले उल्लेख गरे।

जंगल क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको भन्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव पनि दिइएको छ। यस्ता संरचना निर्माण तथा व्यवस्थापनमा रिसोर्टले सहकार्य गर्न तयार रहेको जनाएको छ।

वक्ताहरूले स्थानीय सहभागिता, वन संरक्षण र पर्यापर्यटनलाई सन्तुलित रूपमा अघि बढाउन सके पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *