वीरगन्ज :

नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशनबाट वीरगञ्जका युवा पत्रकार राहुल गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित, नयाँ पुस्ताको सशक्त उपस्थिति स्थापित

श्रेणी : BANNER

6 hours
Pradeep Sah
3.0kViews
1301 Shares

सौराहा (चितवन), २१ चैत । नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ । देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको एक सशक्त स्तम्भ भएको उल्लेख गर्दै फोटो पत्रकारहरूले जोखिमपूर्ण अवस्थामासमेत सत्य र यथार्थ चित्रण गरेर समाजलाई सूचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले राज्यले फोटो पत्रकारहरूको सुरक्षा, पेशागत सम्मान र क्षमता अभिवृद्धिका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

‘तस्बिरले बोलेको सत्य कहिल्यै ओझेल पर्दैन,’ भन्दै उनले फोटो पत्रकारहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा उनले स्वयं क्यामेरा समातेर तस्बिर खिच्दै फोटो पत्रकारिताप्रतिको सम्मान पनि प्रकट गरेका थिए ।

कार्यक्रमका क्रममा फोटो पत्रकारितामा देखिएका चुनौती, डिजिटल प्रविधिको बढ्दो प्रभाव तथा नयाँ पुस्तालाई यस पेशातर्फ आकर्षित गर्ने उपायबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रविधिसँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको सन्दर्भमा सीप, सृजनशीलता र नैतिकतालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो ।

महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई निर्वाचित भएका छन् । महासचिवमा भरत ढकाल चयन भएका छन् । सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भने कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, राहुल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन् । महाधिवेशनको समापनसँगै सहभागीहरूले पेशागत एकता अझ मजबुत बनाउँदै फोटो पत्रकारिताको स्तर उकास्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ नेतृत्वले फोटो पत्रकारहरूको अधिकार संरक्षण, क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *