वीरगन्ज :

मध्यरातमा बोलाएर किशोरको हत्या, तीन जना पक्राउ

श्रेणी : अपराध

13 hours
Pradeep Sah
2.4kViews
1313 Shares

दाङ,२१ चैत । दाङको राप्ती गाउँपालिकामा १७ वर्षीय किशोरको निर्मम हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ का अनुसार राप्ती गाउँपालिका–२ बाह्रखुट्टीका स्मिथ प्रधानको शव शुक्रबार राप्ती–४ दोलाइ खोलाको सुक्खा नालामा फेला परेको हो।

प्रहरी प्रमुख दीपक श्रेष्ठ का अनुसार स्मिथको शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो। घटनामा संलग्न भएको आरोपमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढालाई पक्राउ गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार आरोपीहरूले नक्कली फेसबुक आइडी प्रयोग गरी स्मिथ र उनका साथीलाई भेट्न बोलाएका थिए। घटनास्थलमा पुगेपछि स्मिथलाई अलग लगेर कुटपिट तथा आक्रमण गरिएको र सोही क्रममा उनको ज्यान गएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका १६ वर्षीय आयुषमान थापा मगरको उपचार भइरहेको छ। उनी घटनाबाट जोगिन सफल भएका थिए र उनले नै प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।

प्रहरीका अनुसार घटनामा संलग्नहरूले कसुर स्वीकार गरिसकेको र प्रमाणहरू समेत संकलन भइसकेको छ। प्रेम सम्बन्ध र बदलाको भावनाबाट प्रेरित भई घटना घटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *