सर्लाही,२० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिर लैजान प्रयास गरेको आरोपमा सर्लाहीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई कविलासी–२ स्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिरबाट नियन्त्रणमा लिइएको हो। परीक्षा सुरु भएको केही मिनेटमै उनी केन्द्र बाहिर शंकास्पद अवस्थामा बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनको मोबाइल जाँच गर्दा अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना फेला परेको बताएको छ। घटनापछि उनीमाथि परीक्षा सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ।
यस सम्बन्धमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले ३ दिनको म्याद थप गरिदिएको छ। प्रहरीले परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन थप निगरानी कडा पारिएको जनाएको छ।

प्रतिक्रिया