बीरगन्ज,१८ चैत । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साद्वारा सञ्चालित विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम वीरगञ्जमा सम्पन्न भएको छ। फागुन २५ गतेदेखि सुरु भएको तालिम मंगलबार समापन गरिएको हो।
समापन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भई तालिम पूरा गरेका २९ जना स्वयंसेवकलाई प्रमाणपत्र वितरण गरेका थिए।
तालिममार्फत विपद् व्यवस्थापन, उद्धार तथा आपतकालीन अवस्थामा आवश्यक पर्ने सीपबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो। यसले स्थानीय स्तरमै सक्षम जनशक्ति तयार भई विपद्का बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुंगेल, नेपाली सेनाको श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा वीरगञ्ज महानगरपालिका–१४ का वडा अध्यक्ष महबुब एलाही अन्सारीलगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले यस्ता तालिमले विपद् व्यवस्थापनमा स्थानीय सहभागिता बढाउँदै उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया