सुर्खेत,१८ चैत । इनिशा विक हत्या प्रकरणमा पक्राउ परेका चार जना किशोरलाई पुर्पक्षका लागि थुनामा राख्दै बाल सुधार गृह पठाउन सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ।
बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो। सोमबारदेखि सुरु भएको सुनुवाइ मंगलबार थुनछेक बहसपछि आदेशमा पुगेको हो।
प्रहरीले आफ्नो अनुसन्धानमा सामूहिक बलात्कार पुष्टि नभएको उल्लेख गर्दै मुख्य आरोपीलाई जबरजस्ती करणीसहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानको मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरेको छ।
अदालतमा दायर अभियोग अनुसार दोष प्रमाणित भएमा जबरजस्ती करणीमा १०–१२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना तथा कर्तव्य ज्यानमा आजीवन कारावास सजाय माग गरिएको छ।
यस घटनालाई लिएर सुर्खेतमा तनावपूर्ण अवस्था देखिएको छ। पीडित पक्षका आफन्त र अधिकारकर्मीहरू २५ दिनदेखि न्यायको माग गर्दै प्रदर्शनमा छन् भने आरोपित पक्षका आफन्तहरूले निर्दोषलाई फसाइएको दाबी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
दुवै पक्षले अदालत र सरकारी वकिल कार्यालय अगाडि धर्ना दिएका छन्, जसका कारण क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
उता, इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ। परिवारले पोस्टमार्टम रिपोर्टप्रति असन्तुष्टि जनाउँदै पुनः अनुसन्धानको माग गर्दै आएका छन्।
घटनाले न्याय प्रक्रिया, अनुसन्धानको विश्वसनीयता र स्थानीय स्तरमा न्याय सुनिश्चितताबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया