काठमाडौँ,१८ चैत । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने बहानामा ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार बस्ने ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भदौ २३ र २४ गतेको प्रदर्शनपछि पक्राउ भई हाल सुनधारा कारागारमा थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै पीडित पक्षसँग रकम असुलेका थिए। आफूहरूको सर्वोच्च अदालतका न्यायाधीशहरूसँग राम्रो सम्बन्ध रहेको र ‘सेटिङ’ मिलाएर धरौटीमा छुटाइदिने भन्दै विश्वास दिलाइएको थियो।
सोही बहानामा धरौटी रकम र वकिल खर्च भन्दै मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गराइएको थियो। तर वाचा अनुसार काम नभएपछि ठगी भएको खुल्न आएको हो।
प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया