वीरगन्ज :

नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको पुनः आगमन

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.4kViews
1068 Shares

बीरगन्ज,१८ चैत । मधेस प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल मा लामो समयदेखि अभाव देखिएको विशेषज्ञ चिकित्सक सेवा अब सुधार हुने संकेत देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी भएर पनि अन्यत्र काजमा रहेका पाँच जना वरिष्ठ विशेषज्ञ चिकित्सकलाई तत्काल वीरगञ्ज फर्कन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता को पहलमा लिइएको यस निर्णयले सरकारी अस्पतालमा विशेषज्ञ जनशक्ति अभाव हटाउने लक्ष्य राखिएको छ। लामो समयदेखि नारायणी अस्पतालमा दरबन्दी भएका चिकित्सकहरू काठमाडौँका ठूला अस्पतालमा काज मिलाएर बस्ने वा निजी क्लिनिकमा बढी समय दिने प्रवृत्तिका कारण सेवाग्राहीहरूले सास्ती खेप्दै आएका थिए।

मन्त्रालयको निर्णयअनुसार वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. सुशील समदर्शी र वरिष्ठ सर्जन डा. मुकेश पौडेल, जो यसअघि राष्ट्रिय ट्रमा सेन्टर मा कार्यरत थिए, अब नारायणी फर्किने भएका छन्। त्यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल मा रहेका रेडियोलोजिष्ट डा. सन्तोषकुमार गुप्ता र गाइनोकोलोजिष्ट डा. मिसन्ता शर्मा पनि फिर्ता गरिएका छन्।

यसैगरी वीर अस्पताल मा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. सुयोग्य वाग्ले पनि आफ्नै दरबन्दी भएको नारायणी अस्पतालमा हाजिर हुन निर्देशन दिइएको छ।

विशेषज्ञ चिकित्सकहरूको पुनरागमनसँगै अस्पतालमा रहेका उपकरणहरूको प्रयोग बढ्ने, जटिल शल्यक्रिया नियमित हुने र बिरामीले सहज रूपमा गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले पहिलो चरणमा नारायणीसहित अन्य केही अस्पताललाई प्राथमिकतामा राखेर यस्तो निर्णय लिएको हो। यस कदमलाई वीरगञ्जवासीले सकारात्मक रूपमा लिएका छन्। अब अस्पताल प्रशासनले चिकित्सकहरूको नियमित अनुगमन गर्न सके नारायणी अस्पतालको सेवा र विश्वास दुवै सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *