वीरगन्ज :

खाडी युद्धले नेपालको ४० प्रतिशत रेमिट्यान्स जोखिममा

श्रेणी : अन्तर्राष्ट्रिय

19 hours
Pradeep Sah
2.0kViews
1451 Shares

काठमाडौँ,१७ चैत । पश्चिम एसियामा चर्किँदै गएको युद्ध र सुरक्षा संकटका कारण नेपालको ठूलो आर्थिक आधार मानिएको रेमिट्यान्स आप्रवाह जोखिममा परेको छ। विज्ञहरूका अनुसार कुल रेमिट्यान्सको करिब ४० प्रतिशत हिस्सा आउने खाडी क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत देखिएको छ।

कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन र ओमानजस्ता मुलुकमा जारी तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिक प्रत्यक्ष जोखिममा परेका छन्। हाल ती क्षेत्रमा करिब १९ लाख नेपाली कामदार रहेका छन् भने हरेक वर्ष विदेशिने मध्ये झन्डै ६५ प्रतिशत नेपालीको गन्तव्य यही क्षेत्र हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा १२ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसमा करिब ४ खर्ब ४४ अर्ब खाडी मुलुकबाट आएको हो। यस्तो अवस्थामा द्वन्द्व लम्बिए रेमिट्यान्स आप्रवाहमा अवरोध आउन सक्ने चिन्ता बढेको छ।

रेमिट्यान्स विज्ञहरूका अनुसार छोटो अवधिमा भने आप्रवाह घट्ने सम्भावना कम हुन्छ, किनकि विदेशमा रहेका नेपालीहरूले संकटका बेला थप रकम पठाउने प्रवृत्ति देखिन्छ। तर, द्वन्द्व लामो समयसम्म जारी रहे तीन–चार महिनापछि भने रेमिट्यान्समा गिरावट आउन सक्ने अनुमान गरिएको छ।

अर्थविद्हरूले रेमिट्यान्समा कमी आए विदेशी विनिमय सञ्चिति, आयात व्यवस्थापन र समग्र आर्थिक स्थायित्वमा दबाब पर्ने चेतावनी दिएका छन्। खाडी क्षेत्र नेपालको तेल आपूर्ति, कच्चा पदार्थ र निर्माण सामग्रीका लागि समेत महत्त्वपूर्ण भएकाले आपूर्ति प्रणालीमा समेत असर पर्ने देखिएको छ।

यस्तै, खाडी मुलुकबाट आउने पर्यटक, व्यापार र रोजगारीका अवसरमा गिरावट आउँदा अर्थतन्त्रमा थप चुनौती सिर्जना हुन सक्ने बताइएको छ। विज्ञहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले दीर्घकालीन रणनीति तयार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *