सुर्खेत,१५ चैत । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दर्ता गरेको छ।
जिल्ला अदालत सुर्खेतमा आइतबार दर्ता गरिएको अभियोगपत्रमा इनिसामाथि सामूहिक बलात्कार भएको दाबी गरिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। फागुन २३ गते बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी उनी केही घण्टापछि वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।
उनीलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनास्थलबाट प्रहरीले एक १६ वर्षीय नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले आफू इनिसाको प्रेमी रहेको बयान दिएका छन्।
यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनमा एकल करणी भएको निष्कर्ष निकालिएको भए पनि सरकारी वकिलको कार्यालयले अदालतमा दायर अभियोगपत्रमा भने सामूहिक बलात्कारको दाबी गरेको छ।
घटनाले स्थानीयस्तरमा गम्भीर चासो र आक्रोश उत्पन्न गरेको छ भने अब अदालतमा यस प्रकरणको थप सुनुवाइ अघि बढ्नेछ।

प्रतिक्रिया