वीरगन्ज :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, देशको राजनीतिमा हलचल

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1851 Shares

काठमाडौं,१४ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’ प्रकरणमा कडा कदम चाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट प्रहरीको विशेष टोलीले आज बिहान नियन्त्रणमा लिएको हो।

सरकार गठनसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृह प्रशासन सक्रिय बनेको थियो। सो प्रतिवेदनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राज्य पक्षबाट अत्यधिक बल प्रयोग भई मानवीय क्षति भएको निष्कर्ष निकाल्दै उच्च तहका नेतृत्वमाथि अनुसन्धान सिफारिस गरेको थियो।

पक्राउका क्रममा ओली निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरी टोली ‘जरुरी पक्राउ पुर्जी’ सहित पुगेको थियो भने केही समय एमाले कार्यकर्ता र प्रहरीबीच तनावसमेत देखिएको बताइएको छ।

यसअघि सोही प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्। आयोगले उनीहरू दुवैमाथि मुलुकी फौजदारी संहिताअनुसार ‘लापरबाहीपूर्वक ज्यान जाने अवस्था सिर्जना गरेको’ अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

ओलीको पक्राउसँगै राजनीतिक माहोल झन् तातेको छ। एमालेले यस कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै विरोध जनाएको छ भने सरकार पक्षले भने यसलाई कानुनी प्रक्रिया र विधिको शासनको कार्यान्वयनका रूपमा प्रस्तुत गरेको छ।

यो घटनाले आगामी दिनमा देशको राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने विषयमा चासो र बहस थप तीव्र बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *