जनकपुर,१० चैत । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सका सदस्यहरूले शान्तिपूर्ण धर्ना दिएका छन्।
मंगलबार जनक चोकमा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए। जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
जेन–जी मुभमेन्ट अलायन्सकी धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले आन्दोलनपछि बनेको सरकारको मुख्य म्यान्डेट नै निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्नु रहेको बताइन्। तर लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगर्नु गलत भएको उनको भनाइ छ।
उनले सरकारलाई चेतावनी दिँदै भनिन्, “यदि अब पनि प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याइएन भने आन्दोलनको औचित्य नै रहँदैन।”
लामाका अनुसार प्रतिवेदन सार्वजनिक नभएसम्म देशभर शान्तिपूर्ण धर्ना र प्रदर्शन जारी राखिनेछ।
यसअघि पनि जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौंसहित देशका विभिन्न प्रमुख सहरहरूमा निरन्तर धर्ना तथा प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया