बीरगन्ज,१० चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना–बडहर्वा सडकखण्डमा भएको सडक दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ।
मृतक ६१ वर्षीय केदारप्रसाद शर्मा हुन्, जो रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा उपमहानगरपालिका–२ मा बस्दै आएका थिए।
प्रहरीका अनुसार शर्मा प्र.०२–०३–०७ प २३४१ नम्बरको मोटरसाइकल चलाउँदै बडहर्वातर्फ जाँदै थिए। सोही दिशाबाट गइरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्याक्टर (प्र.०२–०३–००१ त)सँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया