बीरगन्ज,०८ चैत । बीरगन्ज महानगरपालिका वडा नं. ९ मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले १ महिनाको डलकुशन (डल कुसन) उत्पादन तालिम सुरु भएको छ। तालिम नेपाल महिला विकास संघको आयोजना र वडा समितिको सहयोगमा सञ्चालन गरिएको हो।
तालिम उद्घाटन गर्दै वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले महिलाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बन्न प्रेरित गर्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले सिकेका सीपलाई व्यवहारमा उतारेर आम्दानीको स्रोत सिर्जना गर्न सहभागी महिलालाई आग्रह गरे।
कार्यक्रममा वडा सदस्य नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर र कुमारी सोनी पासवान तथा समाजसेवी सतीश सिंह राजपूतले पनि महिलाको आर्थिक सशक्तिकरणका लागि यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे।
नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न तालिममा सहभागी महिलाहरूलाई एक महिनासम्म व्यावसायिक रूपमा डलकुशन बनाउने सीप प्रदान गरिनेछ। तालिमपछि उनीहरूले आफ्नै घरमै साना उद्योग सञ्चालन गरी आय आर्जन गर्न सक्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया