काठमाडौं,६ चैत । पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वाचन परिणामपछि पार्टीभित्र कडाइका साथ समीक्षा र कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। जनवर्गीय सङ्गठनका नेताहरूलाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट असहयोग गर्नेहरूलाई पहिचान गरी कारबाही गरिने स्पष्ट पारे। उनले केन्द्रीय तथा प्रदेश तहका नेताहरूलाई लक्षित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा नजाने, मतदान नगर्ने वा ‘घण्टी’ चुनाव चिह्नतर्फ लागेको आरोप लागेकाहरूको विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिए।
“को-को आफ्नो क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घण्टीमा भोट हाल्यो? त्यसको ठोस प्रमाणसहित रिपोर्ट ल्याउनुस्, हामी कारबाही गर्छौँ,” उनले भने। प्रचण्डले पार्टी पुनर्गठनको प्रक्रिया अब यहीँबाट सुरु हुने उल्लेख गर्दै केन्द्रीय सदस्यहरूबाटै कारबाही थालिने संकेत गरे। “केन्द्रीय सदस्यहरू नै घण्टीतिर गएको भन्ने सामान्य रिपोर्ट आएको छ। तर हामीलाई ठोस प्रमाण चाहिन्छ,” उनले भने, “प्रमाण आएपछि आँखा चिम्लिएर कारबाही हुन्छ।” उनले निर्वाचन परिणामपछि आएका सुझाव र आलोचनालाई संस्थागत रूपमा छलफलमा लैजाने पनि बताए। पार्टीको उच्च निकायमा प्रस्ताव पेश गरी व्यापक समीक्षा गरिने उनको भनाइ थियो। “काम गर्ने र नगर्ने बीच फरक नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले जोड दिए।
सङ्गठन सुदृढीकरणलाई प्राथमिकता दिँदै प्रचण्डले कमिटीहरूलाई चुस्त-दुरुस्त बनाउने, भेला–सम्मेलनमार्फत निर्वाचित नेतृत्व विकास गर्ने र ठूलो आकारका कमिटी घटाउने नीति आवश्यक रहेको बताए। “विचार र राजनीति पहिलो प्राथमिकता हो, त्यसअनुसारको सङ्गठन निर्माण गर्नैपर्छ,” उनले भने। उनले वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै आफूहरूको वैचारिक र राजनीतिक जित कायम रहेको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति संकेत गर्दै उनले “हावाहुरीका रूपमा आएको शक्ति” भन्दै त्यसको उदयका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेको टिप्पणी गरे। त्यसैगरी, उनले विकास, पैसा र प्रचारप्रसार मात्रै चुनाव जित्ने आधार नभएको उल्लेख गरे।
उदाहरण दिँदै विनोद चौधरी र नारायणमान बिजुक्छे को क्षेत्रको सन्दर्भ उठाउँदै ती तत्वहरू सहायक मात्र भएको बताए। प्रचण्डले जनयुद्ध र जनआन्दोलनमार्फत स्थापित समावेशी प्रतिनिधित्वको अवधारणाबाटै वर्तमान राजनीतिक संरचना निर्माण भएको दाबी गरे। “महिला, दलित, मधेसी, मुस्लिम वा जनजाति—सबैको प्रतिनिधित्वको आधार क्रान्तिकारी आन्दोलनबाट आएको हो,” उनले भने। अन्त्यमा उनले पार्टी सङ्घर्षमा कमजोर बनेको स्वीकार गर्दै अब पुनः वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा सुदृढ भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। “हाम्रो मुख्य कुरा विचार, राजनीति र सङ्घर्ष हो, तर अहिले हामी सङ्घर्षमा केही पछि परेका छौँ,” उनले निष्कर्ष सुनाए।

प्रतिक्रिया