बीरगन्ज,०२ चैत । बीरगन्जस्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य, कार्यक्षमता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता र मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत करिब ५० जना प्रहरी कर्मचारीलाई नारायणी अस्पताल वीरगञ्जका कन्सल्टेन्ट फिजिसियन डा। निरज कुमार सिंहले “शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, व्यायाम र तनाव व्यवस्थापन” विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा डा. सिंहले प्रहरीहरूले शारीरिक र मानसिक रूपमा स्वस्थ रहनु अत्यन्त आवश्यक भएको र यसले समाज तथा राष्ट्रको सुरक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्न मद्दत गर्ने जानकारी दिनुभएको थियो।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य प्रति सचेतना बढाउने साथै सेवामा उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरेका थिए।
आयोजकहरूले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया