वीरगन्ज :

चैते दशैंमा गहवामाईको डोली यात्रा निकालिने

श्रेणी : धर्म संस्कृति

3 hours
Pradeep Sah
2.8kViews
1811 Shares

वीरगंज (पर्सा), ३० फागुन । वीरगंजस्थित प्रसिद्ध ‘गहवामाई मन्दिर’ बाट प्रत्येक वर्षझैँ यस वर्ष पनि ऐतिहासिक ‘गहवामाईको डोली यात्रा’ भव्य रूपमा निकालिने भएको छ । आगामी चैत १२ गते (मार्च २६, बिहीबार) को दिन चैते दशैंको अवसर पारेर डोली यात्रा आयोजना गर्ने तयारी गरिएको हो ।

डोली यात्राको तयारीबारे जानकारी दिन शनिबार बिहान मन्दिर परिसरमै पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो अवसरमा गहवामाई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले चैत १२ गते गहवामाईको निशानसहित भव्य डोली यात्रा निकालिने जानकारी दिए । उनले चैते दशैंलाई विशेष रूपमा मनाउने उद्देश्यले परम्परागत रूपमा हुँदै आएको डोली यात्रा यस वर्ष पनि धूमधामका साथ सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई वीरगंज महानगरभित्र रहेका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन हुनेछ । यात्राका क्रममा वीर्ता माई मन्दिर, अलखिया मठ, गणेश मन्दिर र महावीर मन्दिर लगायतका स्थानमा पूजा–अर्चना गर्ने कार्यक्रम तय गरिएको छ ।

डोली यात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नागरिक समाज तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित उपसमिति समेत गठन गरिएको अध्यक्ष साहले बताए । यसैबीच, डोली यात्रामा निशान उठाउन इच्छुक भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ । समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग रकम बुझाएपछि माताको झन्डा, पटुका र टोपी उपलब्ध गराइने जानकारी दिइएको छ ।

डोली यात्रामा पर्सा, बारा लगायत छिमेकी भारतीय सहर रक्सौल तथा देशका विभिन्न क्षेत्रबाट पनि ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । यस्तै, डोली यात्राको पूर्वसन्ध्यामा चैत ११ गते बिहान ७ बजेदेखि माईस्थानस्थित मन्दिर परिसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *