वीरगन्ज :

पर्सा–१ मा चुनावी भिडन्त तीव्रः एमालेका प्रदीप यादव अग्रस्थानमा, कांग्रेस–रास्वपा दबाबमा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.8kViews
1466 Shares

वीरगंज (पर्सा), १५ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचन यसपटक अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। चुनाव नजिकिँदै जाँदा यहाँको राजनीतिक समीकरण झन् तातेको छ।
नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले अघि सारेका ठूला विकास योजनाहरू, पूर्वाधार विस्तार र जनतासँगको निरन्तर सम्पर्कका कारण उनी हाल अग्रस्थानमा रहेको स्थानीय स्तरको आकलन छ। विकास निर्माणमा देखाएको सक्रियता र प्रभावशाली नेतृत्व शैलीले प्रतिस्पर्धी दलहरूलाई दबाबमा पारेको देखिन्छ।
स्थानीय मतदाताहरूको धारणा अनुसार निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा एमाले पहिलो, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा सीमित हुन सक्ने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरू पनि कुनै अप्रत्याशित मोड नआए यही समीकरण कायम रहने सम्भावना औंल्याउँछन्।
देशभर नयाँ राजनीतिक अनुहारप्रति आकर्षण बढ्दै गएको अवस्थामा पनि पर्सा–१ मा भने विगतको कार्यसम्पादन निर्णायक बन्ने देखिएको छ। यादवले जनस्तरसँग कायम राखेको प्रत्यक्ष सम्बन्ध र ‘डाइरेक्ट कनेक्सन’ नै उनको मुख्य शक्ति रहेको स्थानीयवासीहरू बताउँछन्।
यद्यपि युवा मतदाता, विशेषगरी जेन–जेड पुस्तामा ‘नयाँ राजनीति’प्रतिको झुकाव कायमै छ। उनीहरूका अनुसार एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भए पनि रास्वपाले उल्लेख्य मत ल्याउने सम्भावना भने कायमै छ।
रास्वपाको तर्फबाट पर्सा–१ मा होटल व्यवसायी हरि पन्त उम्मेदवार रहेका छन्। उनले संगठन विस्तार र स्वतन्त्र मतदातामाझ पहुँच बढाउन आन्तरिक तयारी तीव्र बनाइरहेका छन्।
यस क्षेत्रका मतदातामाझ वीरगंज महानगरपालिका लगायत पर्साका विभिन्न पालिकामा देखिएको खानेपानी संकटका बेला तत्कालीन खानेपानी मन्त्रीका रूपमा यादवले खेलेको भूमिकालाई विशेष रूपमा स्मरण गरिन्छ। दीर्घकालीन समाधानका लागि अघि सारिएका मेगा प्रोजेक्टहरूले उनलाई थप लोकप्रिय बनाएको समर्थकहरूको दाबी छ।
सडक सञ्जाल विस्तार, पूर्वाधार विकास, धार्मिक स्थल संरक्षण, सार्वजनिक धर्मशाला तथा विवाह मण्डप निर्माणजस्ता कामले पनि उनको जनाधार मजबुत बनेको बताइन्छ।
यद्यपि जानकारहरूका अनुसार पर्सा–१ को चुनाव अन्तिम नतिजासम्म नै अनिश्चित रहनेछ। त्रिपक्षीय प्रतिस्पर्धाले निर्वाचनलाई ‘महायुद्ध’ सरह बनाउने आँकलन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *