वीरगन्ज :

कृषकदेखि शिक्षासम्म ठूलाे एजेन्डा: मल–खाद सुनिश्चितता, कोल्ड स्टोर, रङ्गशाला र रोजगारी योजनासहित पर्सा–२ मा सुशील कानुको आक्रामक प्रतिबद्धता

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.2kViews
1996 Shares

वीरगञ्ज (पर्सा), १५ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियानलाई तीव्र बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले कृषक, विद्यार्थी र युवालाई केन्द्रमा राखेर आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

शुक्रबार बहुदरमाई नगरपालिका–४ स्थित डकैला बहुआरी टोलमा घरदैलो कार्यक्रम गर्दै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरेका थिए। त्यस क्रममा कृषकहरूले भोग्दै आएको मल–खाद अभावको समस्या प्रमुख रूपमा उठेको थियो।

कृषकलाई समयमै मल–खाद उपलब्ध गराउने प्रतिबद्धता

कानुले बर्सेनि मल अभावका कारण तरकारी तथा अन्नबाली उत्पादनमा क्षति हुने अवस्था अन्त्य गर्ने दाबी गरे। निर्वाचित भए लगत्तै आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउँदै समयमै मल र खाद उपलब्ध गराउने योजना अघि सार्ने उनले बताए।

उनले कृषिजन्य उत्पादन सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) निर्माणलाई प्राथमिकतामा राख्ने र किसानले उत्पादन गरेको वस्तु सहज रूपमा बजारसम्म पुर्‍याउने संरचना विकास गर्ने प्रतिबद्धता पनि जनाए। उनका अनुसार उत्पादनदेखि बजारीकरणसम्मको श्रृंखलालाई व्यवस्थित नगरी कृषकको आम्दानी वृद्धि सम्भव छैन।

शिक्षामा स्थानीय पहुँच विस्तार गर्ने योजना

उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न स्थानीय स्तरमै गुणस्तरीय शैक्षिक पूर्वाधार विकास गर्ने योजना उनले अघि सारे। पर्सामा सञ्चालनमा रहेको मधेस विश्वविद्यालयलाई आगामी पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

उनका अनुसार जिल्लामै उच्च शिक्षाको अवसर विस्तार भएमा विद्यार्थी पलायन घट्ने र स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुनेछ।

खेलकुद पूर्वाधारमा लगानी गर्ने प्रतिबद्धता

कानुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छन्। वीरगञ्जस्थित नारायणी रङ्गशाला को स्तरोन्नतिसँगै बहुदरमाई नगरपालिका क्षेत्रमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न मिल्ने रङ्गशाला निर्माणको पहल गरिने उनले बताए।

उनका अनुसार खेल पूर्वाधार विकासले युवालाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्नेछ।

बेरोजगारी समाधानमा जोड

पर्साको प्रमुख समस्या बेरोजगारी भएको उल्लेख गर्दै उनले उद्यमशीलता विकास, सीपमूलक तालिम र स्वरोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए। स्थानीय स्तरमै रोजगारी बढेमा वैदेशिक पलायन घट्ने विश्वास उनले व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विगतका जनप्रतिनिधिले आश्वासन धेरै दिएको तर परिणाम कम देखिएको टिप्पणी गरेका थिए। उनीहरूले यसपटक परिणाममुखी नेतृत्व चाहिएको संकेत दिएका छन्।

रास्वपाका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा परिवर्तन र विकासका मुद्दाले मुख्य स्थान पाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *