श्रेणी : मधेस
वीरगञ्ज, १३ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–६ माइस्थान र वडा नं. ९ घण्टाघर–पानमन्डी क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरे।
घरदैलो अभियानमा कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका आवश्यकता र चुनौतीको विस्तृत जानकारी लिए। उनले औद्योगिक र व्यापारिक सहर वीरगञ्जमा कुशासन हटाएर व्यवसायमैत्री वातावरण सिर्जना गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। साथै, मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरे।
कानुले चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको बताए। उनले भने, “पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताले जिल्लाको विकास अपेक्षित स्तरमा पुग्न सकेको छैन। अब योजनाबद्ध सुधार र नयाँ राजनीतिक संस्कारको आवश्यकता छ।”
उनले आफ्नो सम्भावित सांसद पदमा निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै क्षेत्रीय विकास योजनाहरू अगाडि बढाउने बताए। विशेषगरी, पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राख्दै ठूला विकास परियोजना र पूर्वाधार सुधार प्राथमिकतामा राखिने उनको भनाइ थियो।
मतदाता प्रतिक्रिया
स्थानीयवासीहरूले कानुको घरदैलोमा उपस्थित भएर क्षेत्रीय विकास, सडक र पूर्वाधार सुधार, तथा व्यवसायिक वातावरण सृजना जस्ता मुद्दामा आफ्नो समर्थन र अपेक्षा व्यक्त गरे। मतदाताले यसपटक कार्यान्वयनमुखी नेतृत्वको अपेक्षा राखेका छन्।

प्रतिक्रिया