श्रेणी : BANNER
वीरगंज (पर्सा), ७ फागुन । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीका उम्मेदवार रुपेश कुमार पाण्डेयको जित सुनिश्चित गर्न केन्द्रीय तहबाट सशक्त चुनावी परिचालन गर्ने निर्णय गरेको छ।
क्षेत्र नम्बर–३ मा एमालेप्रतिको समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको आन्तरिक मूल्याङ्कनपछि पार्टी नेतृत्वले केन्द्रीय उपमहासचिव योगेश भट्टराई, पार्टी अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, तथा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई पर्सा–३ को चुनावी मैदानमा खटाउने निर्णय गरेको हो।
उम्मेदवार पाण्डेयका अनुसार तीनै जना शीर्ष नेता आगामी आइतबारदेखि पर्सा क्षेत्र नम्बर–३ मा उपस्थित भई प्रत्यक्ष रूपमा चुनावी अभियानमा सक्रिय रहनेछन्। निर्वाचन अवधिभर उनीहरू सोही क्षेत्रमा बसेर संगठन परिचालन, चुनावी रणनीति निर्माण तथा कार्यकर्ता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।
केन्द्रीय तहका प्रभावशाली नेताहरूको निरन्तर उपस्थितिले क्षेत्र नम्बर–३ मा पार्टीको संगठन थप मजबुत हुने र आफ्नो जितको सम्भावना अझ प्रबल हुने पाण्डेयको दाबी छ। उनले प्रत्येक चुनावी गतिविधिमा तीनै जना नेताको प्रत्यक्ष सहभागिता रहने स्पष्ट पारे।
एमालेले यस निर्णयमार्फत पर्सा–३ लाई उच्च प्राथमिकतामा राख्दै चुनावी अभियानलाई निर्णायक मोडमा पुर्याउने संकेत दिएको छ।

प्रतिक्रिया