श्रेणी : मधेस
वीरगंज (पर्सा), ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ५ हर्दिया तथा वडा नं. २ बगवान क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुको घरदैलो अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ।
स्थानीय कृषक, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागितासहित आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार कानुलाई भव्य स्वागत गरिएको थियो। मुसैली क्षेत्रका विभिन्न टोल–बस्तीमा देखिएको जनसहभागिताले उक्त क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको संकेत गरेको छ।
घरदैलोका क्रममा उम्मेदवार कानुले जनतासँग प्रत्यक्ष संवाद गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारे। उनले जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई केन्द्रमा राखेर योजनाबद्ध विकास अघि बढाइने स्पष्ट पारे।
“स्थानीय तहदेखि संघीय तहसम्मको प्रभावकारी समन्वयमार्फत जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम कार्यान्वयन गरिनेछ,” कानुले भने।
उनले कृषकका लागि समयमै मलखादको सहज उपलब्धता सुनिश्चित गरिने, युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तथा रोजगारीमुखी तालिम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र स्थायी रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने बताए।
घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले परिवर्तनमुखी एजेन्डा बोकेको रास्वपाप्रति विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका छन्। जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत अघि बढेको यो अभियानले क्षेत्र नं. २ मा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाएको देखिन्छ।

प्रतिक्रिया